भाद्र ५, २०७२- म २५ वर्षीय विवाहित युवक हुँ । जागिरको सिलसिलामा एक्लै बस्नुपर्दा मैले अत्यधिक हस्तमैथुन गरेको थिएँ, अहिले केही कम भएको छ तर निरन्तरताचाहिँ छ । श्रीमतीसँग हुँदा पहिलेजस्तो लामो समय उत्तेजना हँुदैन । यौनसम्पर्क गर्नुपूर्व उत्तेजना हुन्छ तर यौनसम्पर्क गर्ने भनेर तयार भएपछि निष्क्रिय हुन पुग्छु । त्यसैले मेरो कमजोरी थाहा नहोस् भनेर श्रीमतीसँग छिटो यौनसम्पर्क गर्ने गरेको छु । यसले गर्दा मेरी श्रीमती तयार हुन सक्दिनन् । श्रीमती तयार हुन्जेल म निष्क्रिय भैसक्छु । निष्क्रिय भएपछि लिंगबाट हल्का चिप्लो पानी जान्छ । श्रीमती यौनसम्पर्क गर्दा जहिले पनि हतार गर्छ भन्छिन् । यसले गर्दा श्रीमती मसँग सन्तुष्ट छैनन् । पहिले–पहिले दुई–तीन पटकसम्म यौनसम्पर्क हुन्थ्यो । अहिले दिनमा एकपटक पनि मुस्किलले हुने गरेको छ । यस्तो किन भएको होला ? यौन उत्तेजनाका लागि औषधी पनि पाइन्छ भन्ने सुनेको छु । त्यस्तो औषधीले नकारात्मक असर गर्छ कि गर्दैन ? उत्तेजनाको समयमा मेरो लिंगको मुण्ड राम्रोसँग खुल्दैन, त्यसैले अग्रचर्मको अप्रेसन गराउने विचार छ । अप्रेसन गर्दा नकारात्मक असर पर्छ कि ? यसका लागि कहाँ सम्पर्क गर्नुपर्छ ?
अ.

यो कुरा पक्का हो कि विवाहित व्यक्तिले यौनसम्पर्क गर्न पाए पनि हस्तमैथुनलाई निरन्तरता दिन्छन् । धेरैजसोले यौनसम्पर्क गर्न नपाएको स्थितिमा यौनेच्छा शान्त पार्न हस्तमैथुनलाई विकल्पका रूपमा उपयोग गर्छन् भने कतिपयले यौनसम्पर्क र हस्तमैथुन दुवैलाई निरन्तरता दिन्छन् । हस्तमैथुन गर्ने कार्यमा अभ्यस्त भएपछि कतिपयले कसरी आफू सजिलै यौन चरमसुखको स्थितिमा पुग्ने भन्ने कुरा सिक्छन् र त्यसको वारम्बार प्रयोग गर्न थाल्छन् ।

श्रीमतीको असन्तुष्टि
तपाईंहरूबीच कत्तिको खुलेर कुरा भएको छ, थाहा भएन तर यौन उत्तेजना शान्त पार्न नपाएपछि असन्तुष्टि हुनु स्वभाविक हो । पुरुषको तुलनामा महिलालाई चरमसुखको चरणसम्म पुग्न बढी समय लाग्छ । लिङ्ग प्रवेश गराएर यौनसम्पर्क गर्दा पुरुष चरमसुखमा पुगेर वीर्य स्खलन भैसक्दा महिला यौन चरमसुखको चरणमा पुग्न सकेका हुँदैनन् । यस्तो स्थितिमा नरमाइलो त हुन्छ नै ।
योनिमा लिङ्ग पसाएपछि मात्र यौनसम्पर्क सुरुवात भएको मान्नु सही होइन । यस्तो परिस्थितिमा यौनसम्पर्क गर्नुभन्दा पहिले पर्याप्त समय पाक्क्रीडामा बिताउनुपर्छ । श्रीमती पर्याप्त रूपमा उत्तेजित भैसकेपछि लिङ्ग योनिमा प्रवेश गराएको स्थितिमा दुवैले यौनसुख प्राप्त गर्न सजिलो हुन्छ । सधैं दुवैले सँगसँगै यौन चरमसुख प्राप्त गर्नुपर्छ भन्ने पनि छैन । एकपल्ट आफ्नो यौन चरमसुखमा केन्द्रित भएर यौनसम्पर्क गर्नुभयो र अर्को पटक श्रीमतीको यौन चरमसुखमा केन्द्रित भएर यौनसम्पर्क राखे दुवैलाई सहयोग पुग्छ ।

कार्यसम्पादनको चिन्ता
कारणवश शीघ्र स्खलन वा चाहिएको बेला चाहेजस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । यसमा मानसिक पक्षको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या अझ चर्को हुनसक्छ । यौनक्षमता प्रदर्शित गर्नुपर्ने
यस्तो दबाबका कारण हुने चिन्तालाई यौन कार्य सम्पादनको चिन्ता भनिन्छ ।
निरन्तर प्रयास गर्दा पनि सफलता हासिल गर्न नसक्दा थप समस्या उत्पन्न हुन सक्छ । सर्वप्रथम त कारण नै पत्ता लगाउनुपर्ने हुन्छ, किनभने त्यसको उपचार वा समाधान त्यसैमा भर पर्छ । कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ । यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर), त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन । मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनु पर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कहिलेकाहीं औषधी सेवन गर्नुपर्ने हुन्छ । कतिपयले हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन् । महत्त्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ ।

लिंग उत्तेजित गर्ने औषधी
लिङ्ग उत्तेजनामा समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान र त्यसैअनुरूप उपचार गर्न सकियोस् । अहिले चर्चामा रहेका अनेक औषधी छन् त्यसमध्ये भियाग्राका बारेमा त सुन्नुभएकै होला । यसमा सिल्डेनाफिल साइट्रेट नामको औषधी हुन्छ । औषधी खाँदैमा स्व:स्फूर्त रूपमा अर्थात् आफसे आफ लिङ्ग उत्तेजित हुने भने होइन । यदि कुनै पुरुष यौनका दृष्टिकोणले उत्तेजित हुन पुगे लिङ्गमा रगत भरिने क्रम सामान्य अवस्थामा भन्दा बढी हुन्छ । त्यसैले लिङ्गमा राम्रोसँग उत्तेजना आउँछ । यौनसम्पर्क सकिएपछि लिङ्ग पुन: पुरानै अर्थात् उत्तेजित नभएको अवस्थामा फर्कन्छ । ह्दयरोग भएका व्यक्तिहरूले अन्य बढी शारीरिक परिश्रम गर्नुपर्ने स्थितिजस्तै यौनसम्पर्क राख्दा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । विशेष गरेर ह्दयरोगका लागि नाइट्रेट भएका औषधीको प्रयोग गर्ने व्यक्तिले यो औषधी प्रयोग गर्नु हुँदैन । अचानक रक्तचापमा कमी भएर ज्यानमै खतरा पनि हुनसक्छ । ह्दयरोग, रक्तचाप, कलेजो वा मृगौलासम्बन्धी खराबी भएका व्यक्तिहरूले विशेष गरेर यो औषधीको सेवन गर्नुअघि ध्यान पुर्‍याउनुपर्छ । यी औषधी त्यसै बजारमा किनेर खानु हुँदैन, चिकित्सकसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुपर्छ ।
त्यसैगरी यो औषधी यौन इच्छा वा क्षमता वृद्धि गर्ने एफ्रोडिजियाक वा हार्मोन भएको औषधी पनि होइन भन्ने कुरा बुझ्न जरुरी छ । त्यसले तपाईंको लिङ्ग उत्तेजनासम्बन्धी सबै समस्या समाधान नगर्न सक्छ । प्रयोगकर्तामध्ये कतिपयलाई टाउको दुख्ने, अनुहार रातो भएर आउने तथा पेट गडबड हुनेजस्ता असर देखिन सक्छन् । कसै–कसैलाई दृष्टि क्षमतामा नीलो र हरियो रंग छुट्टयाउन नसक्ने, प्रकाशसँग बढी संवेदनशील हुने तथा धमिलो देखिनेजस्ता समस्या हुन सक्छ । अति विरलै हुने भए पनि कसै कसैमा लिङ्गको उत्तेजना भए पनि पुरानै अवस्थामा नफर्किएर उत्तेजित अवस्थामै कायम रहन सक्छ । यदि यस्तो स्थिति ४ घण्टासम्म पनि निरन्तर कायम रहे तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्ने हुन्छ, अन्यथा लिङ्गमा स्थायी रुपमा क्षति पुग्न सक्छ । अग्रचर्मको समस्याका लागि शल्यचिकित्सकसँग सम्पर्क राख्नुहोला ।